Introduction

लेखक र संकलन सहयोगीहरुको भनाई

सृष्टिकर्ता ईश्वरकै लिलाले यो विशाल विश्व ब्रह्माण्ड पृथ्वी माथि मानिस अथवा चराचर जगतको सृष्टि भयो । तर पशु र पंक्षिहरु हामी मानव सृष्टि हुनु भन्दा अगाडि सृष्टि भएका हुन् भन्ने आदि ससी मुन्धुम छ यद्यपी उनीहरुको राज्य र ईतिहास वंशावली भने कतै देखिन्दैन ।

हामी मानव जातीले भने राजाको आदर विना अराजकतामा बस्न सक्दैनौं तसर्थ आफ्नो राज्यको छत्र छाँयामा बसेर आफ्नो भाषा, लिपी, संस्कृति तथा साहित्यको अनेक वंश र वंशको वंशावली लेख्न चाहान्छौं ।

अब केही उदाहरणको लागि एउटा दन्त्य कथा पनि लेख्यौं । एक दिन ६ जना अन्धाहरु हात्तीको अवलोकन गर्न गएका थिए रे । प्रथम अन्धाले– हात्तीलाई छाम्दै जाँदा पेट भेटेछ र उनका साथीहरुलाई यो भन्या– “हेर साथीहरु हो, हात्ती भनेको वस्तु पर्खाल जस्तो हुँदोरहेछ ।” दोश्रोको पालो छाम्दै जाँदा खुट्टा भेटेछ र हात्ती भनेको कहाँ पर्खाल जस्तो हुने हो र ? थाम जस्तो पो हुँदो रहेछ भनेछ । अनि क्रमैसँग छाम्दै जाँदा सुँढ भेट्नेले सर्प जस्तो, दारा भेट्नेले भाला जस्तो, कान भेट्नेले पंखा जस्तो पुच्छर भेट्नेले डोरी जस्तो भनेछन् । सोही परी यो मुन्धुम कहाँ त्यसो हो र यसो पो हो त कहाँ यसो र त्यसो पो हो त भने दलाल गर्नु आफ्नो वंशावली मुन्धुम आफैले नसुधारी अर्काको मुख ताक्नु मात्र हुन्छ । यसर्थ आफ्नो वंशावली मुन्धुम आफैले सुर्धानु पर्छ ।

एउटा विद्वानको लेखमा यस्तो थियो– “जो जातीका व्यक्तिलाई मास्नु परेको छ, त्यसको शाखा सन्तान मात्र मारेर मासिने छैन, त्यसका भाषा, लिपी, संस्कृति, ईतिहास, वंशावली जो जो छ सो सबै मास्नु पर्छ तब मात्र मासिएर जानेछ ।” त्यसो हुनाले हाम्रो पनि आफ्नो वंशावली मुन्धुम हराउँदै जान लागेकोले सो हुन नपाओस् भनि आज यो मुन्धुम लेखिएको हो ।

अन्त्यमा, यस वंशावली मुन्धुममा भएका कतिपय भुल त्रुटीहरु भविष्यमा आउने छोरा–नातिहरुले सुधारेर लैजानेछन् भन्ने आशा राख्दै हाम्रो भनाई यही समाप्त गर्दछौं ।

हुन त यो पुरानो वंशावली मुन्धुम कुनै उपयोगी होला या नहोला त्यसैले त यो पुरानो वंशावलइ मुन्धुमले आजको नयाँ युगमा केही काम दिदैन । डाँडा काटेर गयो । के त्यसले हामीलाई जागिर नोकर दिन्छ के त्यसले हाम्रो भाँडामा चामल भरी दिन्छ ? जस्ता कुराहरु पनि कतै कतै सुन्न पाईएको छ । तर भन्नेलाई फूलको माला सुन्नेलाई सुनको माला ।

यो वंशावलीको मुख्य उद्देश्य पूर्वकालमा हामी कुन ठाउँमा कसरी सृष्टि भयौं ? त्यसबेला कुन अवस्थमा थियौं र आज यो गतिविधिमा पुगेका छौं भन्ने एउटा दार्शनिक अनुसन्धान गर्न खोजिएको हो । यो मुन्धुममा धेरै भूल त्रुटीहरु हुनसक्छ तर पनि सच्याई भूल सुधार गरि लैजानु हुनेछ भन्ने आशा छ ।

(पहिलो संस्करण–२०५३ बाट साभार)

लेखकः रुम बहादुर ईस्बोहाङ, खाम्लालुङ–४, तेह्रथुम

संकलन सहयोग गर्नः दुर्गा प्रसाद फोपाहाङ, खाम्लालुङ–५, तेह्रथुम

अकल बहादुर ईस्बोहाङ खाम्लालुङ–४, तेह्रथुम